शोक विज्ञप्ति – वरिष्ठ पत्रकार राजेश्वर नेपाली

शोक विज्ञप्ति

नेपाल पत्रकार महासंघ धनुषा शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा आफ्नो कलमका मार्फत उल्लेखनीय भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उमेरमा निधन भएको छ ।
स्वास्थ्य अवस्था बिग्रेर विगत ६ महिनादेखि थला परेका नेपालीको सोमबार साँझ ८:०५ मा निधन भएको हो । वि.सं. २००२ साल भदौ १९ गते धनुषाको विन्धी गाविस-१ हाल जनकपुरधाम उपमहानगरपालिका २३ लादोवेलामा जन्मेका नेपाली पत्रकारिता जगतका जिउँदो इतिहास थिए । २००७ सालदेखिको विभिन्न परिवर्तनको आन्दोलनमा पटक पटक जेलनेल भोगेका थिए ।
समाचार लेखेकै कारण २०३६ २०३९ र २०४२ सालमा उनलाई तत्कालीन व्यवस्थाले जेल हालेको थियो । २०३६ र २०३९ सालमा कमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्षनै जेल जीवन भोग्नु परेको थियो । पत्रकारिता, साहित्य, संस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकै वापत उनलाई २०६५ सालमा प्रजातान्त्रिक सेनानीको रूपमा अभिनन्दन गरिएको थियो । नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपालीले आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्थे । उनले समाजको लागि परिवर्तनकारी सोच, सामाजिक रुपान्तरणको लागि कलम निरन्तर चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए ।
मैथिली साहित्यमा एमए गरेका नेपालीका २ छोरा र ३ छोरी थिए तर पत्रकारितामै लागेका जेठो छोरा रविन्द्र साहको २१ व्यंकै अल्पआयुमा निधन भएको थियो । जेठो छोरा रविन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक हालसम्म पनि नेपालीको संरक्षणमा प्रकाशन हुदै आएको हो ।
वरिष्ठ पत्रकार नेपालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अभिभावक गुमाएको छ भने महासंघले आफ्नो मार्गदर्शक र पथप्रदर्शकलाई गुमाएको छ । धनुषा जिल्लाबाट पत्रकारिता क्षेत्रमा पहिचान बनाएका नेपालीको निधले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखा यस शोकको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारणा गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

मनिका झा अध्यक्ष
नेपाल पत्रकार महासंघ धनुषा शाखा