
पत्रकारिता समाजको ऐना हो । समाजमा भईरहेका गतिविधिहरुलाई श्रोता, दर्शक र पाठक सम्म पुऱ्याउन सञ्चारकर्मीहरु अहोरात्र खटिएका हुन्छन् । महिला सञ्चारकर्मीहरुका लागि यो पेशा अ चुनौतीपूर्ण छ । आफ्नो पेशागत धर्मलाई निर्वाह गर्ने क्रममा मिति २०७९ ११ ३० गते विहिवार दिउँसो १२:३० मा रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा हुन गईरहेको स्ववियू निर्वाचनको समाचार संकलनका लागि खटिएकी ‘प्राईम टेलिभिजन’ की पत्रकार चाँदनी झामाथि क्याम्पस हाता भित्रै भएको दुर्व्यवहार र अपमानजन्य गतिविधि प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
एक महिला र उनको चरित्रप्रति लाञ्छना लगाएर अपशब्द प्रयोग गर्ने जो सुकै भएपनि दण्डका भागिदार हुन् । समाचार संकलन गरिरहेकी पत्रकार झालाई लक्षित गरेर क्याम्पसका विद्यार्थी कमोद मण्डलले अपशब्द प्रयोग गर्नुका साथै भौतिक आक्रमणको धाकधम्की समेत दिनु मानव अधिकार र प्रेस स्वतन्त्रतको घोर उलल्घन हो । घटनास्थलमा प्रहरीको उपस्थितिमै यस्ता निन्दनीय क्रियाकलाप हुँदा समेत धनुषा प्रहरी मुकदर्शक बन्नु आफैंमा लज्जास्पद हो ।
कुनै पनि पेशामा संलग्न महिलाहरुको सम्मान र उनीहरुको सुरक्षाका लागि तत्पर हुनुपर्ने प्रहरी प्रशासनले पिडकको मनोबल बढाउने क्रियाकलाप गरेको हाम्रो ठहर छ । यस घटनाले पत्रकार झालाई मानसिक यातना पुग्नुको साथै पेशागत धर्म निर्वाहमा समेत अवरोध हुन गएकोमा महासंघ धनुषा शाखा घटनाको घोर विरोध गर्दछ । महिला भएकै कारण सार्वजनिक रुपमा गालि बेइज्जती गर्ने विद्यार्थी मण्डललाई यथाशीघ्र कानुनको दायरामा ल्याई कडा कारवाही गर्न प्रशासनसँग मांग गर्दछौं ।
मनिका झा
अध्यक्ष
नेपाल पत्रकार महासंघ, धनुषा
