शोक विज्ञप्ति: सिबेन्द्र रोहिता


धनुषा जिल्लालाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका धनुषाको शहीदनगर नगरपालिका-८ का पत्रकार शिवेन्द्र रोहिताको ३२ वर्षको अल्पायुमै दुर्घटनामा परि ‘शंकास्पद रुपमा निधन भएको घटनाले नेपाल पत्रकार महासंघ धनुषा शाखा स्तब्ध र शोकमग्न भएको छ ।
‘राजधानी जनकपुर अनलाइन’ मा कार्यरत रोहिताको शनिबार विहान करिब ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तर, घटनाको प्रकृति हेर्दा र मोटरसाईकलको पछाडी सवार अर्का घाईते प्रत्यक्षदर्शिको भनाईले घटना शंकास्पद रहेको प्रसस्त आधारहरु देखाउँछ । प्रहरीले घटना गराउने कार सहित त्यसमा सवार चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी गराएपनि घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरि दोषिलाई कडा कानुनी कार्वाहीको मांग गर्दछौं ।
पत्रकार रोहिताको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदायमान पत्रकार गुमाएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा स्वर्गीय रोहिताको निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।